काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनका लागि आवश्यक कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैठकपछि पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिँदै महाधिवेशन आगामी २०८२ पुस २६, २७ र २८ गते गर्ने निर्णय भएको बताए ।
उनका अनुसार बैठकले पार्टी संरचना सुदृढिकरण तथा महाधिवेशन तयारीका विषयमा विस्तृत छलफल गरेको थियो । महतले भने, ‘बैठकले लामो छलफलपछि १५ औँ महाधिवेशनका सन्दर्भमा मंसिर २० गतेभित्रै पुराना तथा नयाँ क्रियाशील सदस्य वितरणको काम केन्द्रीय कार्यालयमार्फत सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै, पुस ८ गतेसम्म सबै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता सम्बन्धी कार्य पूरा गर्ने निर्णय पनि गरिएको छ ।
कांग्रेसले महाधिवेशन तयारीलाई संगठन सुदृढिकरणसँग जोडेर आगामी दिनमा आवश्यक प्रक्रिया द्रुत गतिमा अघि बढाउने जनाएको छ ।









