काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको फाइनलमा प्रवेश गरेको छ ।विहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको दोस्रो प्लेअफ खेलमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
अब लुम्बिनीले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्ने छ । सुदूरपश्चिमले पहिलो प्लेअफमा विराटनगरलाई स्तब्ध बनाउँदै यसअघि नै फाइनलमा स्थान बनाएको हो ।
लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७.५ ओभरमा जम्मा ९४ रनमा अलआउट भयो । विराटनगरका साम हजलतले सर्वाधिक ३४ रन जोड्दा नरेन भट्टले अन्तिममा २१ रनको पारि खेले ।
यसैगरी मर्चेन्ट डी लांगेले १७ रन जोड्दा अन्य कुनै पनि व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनीका तिलक भण्डारीले ३ विकेट लिँदा रुवेन ट्रम्पलम्यान, जेजे स्मित र अभिशेष गौतमले समान दुई दुई विकेट लिए ।
त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
लुम्बिनीका ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए। यस्तै, कप्तान रोहित कुमार पौडेलले ३४ रन बनाए।
विराटनगरका सुवाष भण्डारी र प्रतिश जिसीले समान ३ विकेट लिँदा कप्तान सन्दीप लामिछाने २ विकेट हात पारे।
हारसँगै विराटनगर दोस्रो सिजनमा तेस्रो भयो ।














