काठमाडौं, २० पुस । भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा जाँचबुझ गर्न गठित आयोग समक्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा बयान दिएका छन्।
जाँचबुझ आयोगका पदाधिकारीहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा अोलीको निवासमा नै पुगेर बयान लिएका हुन् । एमाले अध्यक्षसमेत रहेका ओलीले आयोगले सोधेको प्रश्नमा लिखित जवाफ दिएका छन् । यसअघि बयान नदिने अडान लिएका ओलीले अन्ततः आयोगलाई लिखित जवाफ दिएका हुन् ।
ओलीको लिखित जवाफ लिनका लागि आयोगका पदाधिकारी र कर्मचारी उनको घरमै पुगेका थिए । जवाफमा ओलीले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निस्पक्षताको बारेमा प्रश्न उठाएको स्रोतको दाबी छ ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा केपी ओली प्रधानमन्त्री थिए।
आन्दोलनको पहिलो दिनमै बानेश्वरमा १७ र सुनसरीमा २ जना गरी १९ जना युवाको सुरक्षाकर्मीबाट हत्या भएको थियो। त्यसको विरोधमा भोलिपल्ट भएको आन्दोलनका कारण राष्ट्रपति निवास शितल निवास, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको मुख्य भवनसहित प्रहरी कार्यालयहरु ध्वस्त पारिएको थियो ।
आन्दोलनका क्रममा भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा जाँचबुझ गर्न सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग बनाएपछि उक्त आयोगले हाल २३ र २४ गतेको घटनाका सम्बन्धित पक्षसँग बयान लिईरहेको छ।









