काठमाडौं । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ।
उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघनलगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।
शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्मेदवार छन्।
बालेन शाहलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको र भुसाललाई ‘जेनजी’ आन्दोलनको ‘आइकोनिक’ जुत्ता चुनाव चिह्न भनेर प्रचार गरेको विषयमा स्पष्टीकरण सोधिएको हो । धरानका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।
यस्तै एमाले सचिव महेश बस्नेतविरूद्ध पनि अभिव्यक्तिलाई लिएर उजुरी परेको हो। उनले बालेन शाहले जनकपुरमा गरेको भाषणको केही शब्दलाई अनर्थ लगाउने गरी व्याख्या गरेको आरोप छ। एमाले सचिव बस्नेतमाथि मधेसी समुदायलाई अपमानित हुने गरी घृणात्मक अभिव्यक्ति दिएको आरोप लागेको छ। बालेनले भाषणमा ‘छौरा’ शब्द प्रयोग गरेका थिए। उक्त शब्दलाई महेशले गतल अर्थ लगाएपछि आलोचनासमेत भएको थियो।














