काठमाडौं-
अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जाने विषय बाध्यकारी नभई स्वेच्छिक रहेको बताएका छन्।
बुधबार कामना सेवा विकास बैंकको १३औं वार्षिकोत्सव तथा ५० वटा शाखाको एकसाथ उद्घाटन कार्यक्रममा अर्थमन्त्री खतिवडाले बिग मर्जरको विषयलाई बाध्यकारी नबनाउने बताएका हुन।
‘मर्जर भनेको स्वेच्छिक कुरा हो, हामीले मर्जरमा जानुस् भनेर सुझाव दिने हो। बलजफ्तीले लोकतन्त्रमा केही हुँदैन। मर्जरका लागि बाध्य पारिँदैन र पार्नु पनि हुँदैन।,’ अर्थमन्त्री खतिवडाले भने।
पछिल्लो समय बैंक तथा वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका क्षेत्रमा राम्रो प्रगति गरेको भन्दै प्रशंसा गरेका अर्थमन्त्री खतिवडाले मर्जरको विषयमा पनि बैंक तथा वित्तीय संस्थाहरुले स्वयं नै गम्भीर भएर सोच्नुपर्ने बताए।
‘लोकतन्त्रमा निधेष गर्ने वा वाध्यकारी गर्ने भन्ने विषय रहँदैन। तर कानुन पालनाको सन्दर्भमा हामी कसैले उन्मुक्ति पाउँदैनौं र त्यसको मलतब कानुन नै लाग्दैन भन्ने होइन। कानुन सबैभन्दा पहिला मलाई लाग्छ, त्यसपछि राष्ट्र बैंकलाई लाग्छ र त्यसपछि तपाईंहरुलाई लाग्छ,’ खतिवडाले भने।
अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीको वातावरण भएन भन्दै गर्दा बैंक तथा वित्तीय संस्थामा कर्जाको चाप देखिनुले मुलुकमा लगानीका लागि वातावरण छ भन्ने देखाएको पनि धारणा राखेका छन्।
त्यस्तै, बैंकिङ प्रणाली विस्तारै स्थायित्व र सुदृढीकरणतर्फ गइरहेको र नेपालको बैकिङ क्षेत्र दक्षिण एसियामै उत्कृष्ट रहेको पनि उनको भनाइ छ।










