काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् ।
सोमबार फेसबुकबाट भिडिओ सन्देश जारी गर्दै ठेक्का तोडेर जादु गरे जस्तो गर्दा पूर्वाधारणको समस्या समाधान नहुने जनाएका छन्।
‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ,’ भिडियोसँगै थापाले लेखेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो ।
’‘हामीले बेलाबेलामा ठेकेदारलाई तर्साएर वा आयोजना स्थलमा पुगेर निर्देशन दिएर ताली त पाउँला, तर समस्याको समाधान हुँदैन,’ थापाले भने, ‘लक्षणमा मात्र काम गरेर हुँदैन, जरामा पुगेर उपचार गर्नुपर्छ।’
पूर्वाधार समयमै बनाउने योजना सुनाउँदै पाँच वर्षमा नेपालले परिवर्तन गर्न सक्छ भन्ने उदाहरण कांग्रेसले पेश गर्ने सभापति थापाले दाबी गरे ।














