काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन् ।
धरानको भानु चोकमा सुनसरी–१ का उम्मेदवार सुजेन्द्र तामाङको ‘प्रतिबद्धता घोषणा सभा’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हून् ।
उनले भने, ‘प्रधानमन्त्री ५ वर्ष टिक्न/टिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ । यो किन भने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन् ।’
पछिल्लो ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले ५ वर्षको कार्यकाल पूरा गर्न नसकेको इतिहास स्मरण गराउँदै उपसभापति शर्माले अबको ध्यान सरकारको आयु लम्ब्याउने नयाँ पद्धतिमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले नेपाली कांग्रेस बहुमत ल्याउने लक्ष्यका साथ अघि बढेको उल्लेख गर्दै स्थिर सरकारका लागि चुनावपूर्व नै राष्ट्रिय सहमति आवश्यक रहेको बताए।














