राजेन्द्र लिङदेनको आग्रहः ‘फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

विहीवार काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गरेका हून् ।

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरे।

उनले हाल देशको अस्तित्व नै संकटमा परेको बताए । उनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए । उनका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उनले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे ।

प्रकाशित मिति : फाल्गुन १४, २०८२ बिहीबार  १ : ४७ बजे