अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ: गगन थापा



काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन् ।

सुर्खेतमा भएको कांग्रेसको कर्णाली प्रदेश स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसलाई जिताएर मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे । 

चुनाव सफल बनाउन नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरिसकेको बताउँदै उनले फागुन २१ गतेको चुनावको सन्दर्भमा भदौ २३ र २४ गतेका घटनालाई बिर्सन नहुने धारणा राखे । 

उनले कर्णालीबासीलाई ०८२ देखि ८७ सम्म कांग्रेसलाई मौका दिन आग्रह गर्दै मौका दिएमा मुलुकमा स्वर्णिम कालको सुरुवात गर्ने बताए । ‘०८२ देखि ०८७ सम्म कांग्रेसलाई मौका दिनुस् । मौका दिनुभयो भने । स्वर्णिम काल बनाउँछौँ । नेपाललाई ५ वर्ष सुधार्छौ,’ सभापति थापाले भने ।  

उनले भने, ‘यो चुनाव बाध्यताको चुनाव हो । यो चुनाव नेपालका लागि अहिले हाम्रो संविधानलाई ट्रयाकमा राख्नका निम्ती अनिवार्य सर्त पनि हो। चुनाव सफल बनाउनका निम्ती नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गरेको छ । फागुन २१ गतेको चुनावको सन्दर्भमा हामीले भाद्र २३ र २४ गतेको कुरालाई बिर्सेर हुँदैन ।’

उनले देशमा अब सरकारको गोलीबाट कुनै नागरिकको ज्यान जान नहुने र कुनै पनि व्यक्तिले नकाब लगाएर सिंहदरबार जलाउने जस्ता गतिविधि गर्न नपाउने अवस्था सिर्जना गर्नुपर्ने बताए । त्यसका लागि चुनावमा जाँदा भदौ २३ र २४ का घटनालाई गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने उनको भनाइ थियो ।

थापाले केही शक्तिहरूले भदौ २३ र २४ मा भएका घटनालाई इन्कार गर्ने प्रवृत्ति देखिएको आरोप लगाए । ती घटनाअघि सबै कुरा सामान्य थियो भन्ने तर्क गलत भएको उनको जिकिर थियो ।

प्रकाशित मिति : फाल्गुन १४, २०८२ बिहीबार  ४ : १४ बजे