काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना शुरु भएको २४ घण्टाभित्रै पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने दाबी गरेको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भौगोलिक विकटताका बाबजुद पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा दिने तयारी भइरहेको जानकारी दिएका हून् ।
उनले भने–‘मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ।’ आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ । आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टबाट संकलन गर्ने जनाएको छ ।
त्यसको नतिजा पनि छिट्टै सार्वजनिक गरिने उनको भनाइ छ । आयोगले गरेको यो प्रतिवद्धता कति पूरा हुन्छ भनेर निगरानी गर्न उनले सञ्चारकर्मीहरूलाई आग्रह समेत गरे ।














