काठमाडौं । मोरङको मनमोहन टेक्निकल इन्टच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ किताब जलाएको विषयमा चीनले दूतावासमार्फत चासो देखाएपछि गृहमन्त्रालयले यसबारे कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएको छ ।
चीनले औपचारिक चासो देखाएपछि नेपाल सरकारले अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाएको हो ।
उक्त घटनाको छानबिन तथा कारबाही गर्न काठमाडौँस्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।
सोही पत्र उपर गृह मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको हो ।सो घटनाका सम्बन्धमा अनुसन्धान गर्न दोषीलाई कानुनी दायरामा ल्याउन मोरङ प्रशासन र प्रहरीलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।














