काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले सभामुखमा निर्वाचित भएमा नेपालको संविधान र कानूनको परिधिभित्र रहेर न्यायसम्मत काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रवार सिंहदरबारमा सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्यालले आफूले पाउने जिम्मेवारीलाई न्यायपूर्ण ढंगले निर्वाह गर्ने बताएका हून् ।
उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।’
उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ ।
अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात गर्दै व्यवस्थापिकाको गरिमालाई उच्च राख्ने समेत बताए । उनले आफ्नो उम्मेदवारी नेपाली जनताको हित र राष्ट्रियताको संरक्षणका लागि भएको स्पष्ट पारे ।














