प्रधानमन्त्री शाहले गरे उपकुलपतिहरूसँग छलफल, दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन निर्देशन



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन् ।

देशभरका विश्वविद्यालय तथा स्वास्थ्य शैक्षिक प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिए ।

प्रधानमन्त्री बालेनले शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय संगठनका संरचना हटाउन कुनै ऐन बाधक नहुने बताएका छन् । अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने उनले उल्लेख गरे ।

प्रधानमन्त्री बालेनले राजनीतिक संगठनका संरचना हटाउदा सुरक्षा समस्या आए तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न भने ।

प्रधानमन्त्री शाहले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न र परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्न निर्देशन दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले राजनीतिक दलसँग आबद्ध संगठनका संरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्न बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे तीन घण्टासम्म चलेको छलफलमा ११ विश्वविद्यालय र सात प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए ।

बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या, सुधारका उपाय तथा शैक्षिक प्रणाली सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : बैशाख ७, २०८३ सोमबार  ७ : ४६ बजे