काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहलाई नयाँ शैक्षिक सत्र २०८१ का लागि वैशाख २ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न तथा वैशाख १५ गतेदेखि नियमित पठनपाठन शुरु गर्न काठमाडौं उपत्यका मेयर्स फोरमले निर्देशन दिएको छ ।
बुधवार ललितपुरमा बसेको फोरमको आकस्मिक बैठकले यस्तो निर्णय गरेको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार आधारभुत तथा माध्यमिक शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई भएको उल्लेख गर्दै विद्यालय स्थापना, सञ्चालन, अनुमति तथा अनुगमन गर्ने जिम्मेवारी स्थानीय सरकारकै रहेको पनि स्पष्ट पारे ।














