काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्ध चाँडै अन्त्य हुने बताइरहेका बेला अमेरिकाले इरानको राजधानि तेहरानसहित इरानका सैन्य ठेगानामाथि पुन बमबारी गरेको छ । राष्ट्रपति ट्रम्पले भने अमेरिकी र इरानी सेनाबीच भिडन्त भएपनि युद्धविराम अझै कायम रहेको बताएका छन्।
अमेरिकाको सेन्ट्रल कमाण्डले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत मिसनमा रहेका अमेरिकी डिस्ट्रोयरहरूमाथि इरानी सेनाले हमला गरुपछि इरानमा पुन: बमबारी गरेको दाबि गरेको छ ।
इरानको आईआरजीसीले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गतको मिसनमा रहेका अमेरिकी डिस्ट्रोयरहरूमाथि ड्रोन र मिसाइलबाट हमला गरेको भिडियो समेत र्साबजनिक गरेको छ । घटनाबारे प्रतिक्रिया जनाउँदै इरानको आईआरजीसीले अमेरिकाले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ।
अमेरिकी सेनाले जास्क बन्दरगाहनजिक एउटा इरानी तेल ट्याङ्कलाई निशाना बनाएको आईआरजीसीले विज्ञप्तिमार्फत् जनाएको छ।
इरानी नौसेनाले सघन विस्फोटक युद्धशीर्षमार्फत् जबाफी कारबाही गर्यो र अमेरिकी शत्रुहरूलाई महत्त्वपूर्ण क्षति भएको गुप्तचर निगरानीबाट सङ्केत पाइयो, शत्रुका तीन वटा अतिक्रमणकारी जहाज तत्काल होर्मुज जलमार्गबाट भागे, आईआरजीसीले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको छ।
अमेरिकाले एउटा इरानी तेल ट्याङ्करलाई निशाना बनाएकोले तटीय क्षेत्रमा हवाई हमला गरिएको इरानका एक उच्च सैनिक कमान्डरले आरोप लगाएका छन्।
अमेरिका चाहिँ होर्मुज जलमार्गमा अमेरिकी नौसेना निर्देशित क्षेप्यास्त्र विध्वंसक (मिसाइल डिस्ट्रोएर) माथि इरानले आक्रमण गरेपछि आत्मरक्षामा प्रत्याक्रमण गरिएको दाबी गरेको छ।
आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले इरानी आक्रमणकरीहरूलाई ठूलो क्षति पुर्याइएको र थुप्रै सङ्ख्यामा साना डुङ्गाहरू ध्वस्त पारिएको बताएका छन्।
ती डुङ्गाहरू छिटै र प्रभावकारी रूपमा समुद्रको सतहमा पुगे। हाम्रा डिस्ट्रोएरहरूमाथि क्षेप्यास्त्रहरू प्रहार गरियो र तिनलाई सजिलैसँग खसालियो। त्यसै गरी ड्रोनहरू पनि आए, जसलाई हावामै नष्ट पारियो, ट्रम्पले लेखेका छन्।
ट्रम्पले इरानविरुद्ध अमेरिकी नाकाबन्दी कायमै रहेको पनि उल्लेख गरेका छन्। यसअघि ट्रम्पले इरानसँग सम्झौता गर्ने दिशामा ठूलो प्रगतिू हासिल गरेको भन्दै होर्मुज जलमार्ग भएर जहाजहरूलाई निकाल्ने काम अमेरिकाले मङ्गलवार स्थगित गरेको थियो।
यसअघि युद्ध अन्त्यबारे अमेरिकी नयाँ प्रस्तावको अध्ययन गरिरहेको इरानले बुधवार जनाएको थियो।
अमेरिकी नयाँ प्रस्तावमा इरानको परमाणु प्रशोधन कार्य निलम्बन गर्ने, प्रतिबन्धहरू हटाउने र होर्मुज जलमार्गबाट फेरि पानीजहाजहरूको निर्बाध आउजाउ शुरू गर्ने लगायतका विषय समेटिएका बताइएको छ।
अमेरिकाले इरानलाई परमाणु अस्त्र हासिल गर्न दिने शून्य सम्भावना रहेको ट्रम्पले दाबी गरेका छन्।
वार्ताहरू एकदम राम्ररी अगाडि बढिरहेका छन्, तर सम्झौतामा हस्ताक्षर भएन भने ठूला पीडामा पर्ने कुरा उनीहरूले बुझ्नुपर्छ, ट्रम्पले चेतावनी दिए। मलाई विश्वास छ कि मलाई भन्दा उनीहरूलाई सम्झौताको आवश्यकता छ, उनले भनेका छन् ।
यसअघि बुधवार सहमतिको आशा व्यक्त गरेका ट्रम्पले हिंसाबारे नयाँ चेतावनी पनि दिएका थिए। बीबीसीको रिपोर्टमा आधारित














