प्रधानमन्त्री संसदबाट बाहिरिएको घटनाप्रति काँग्रेसको आपत्ति, संसदमा जवाफ दिन माग



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद बैठक बाहिर निस्किएको घटनाबारे तत्काल जवाफ दिन प्रधानमन्त्री बालेन्द्र साहसँग माग गरेको छ ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शुरुमा नै बोल्दै उक्त पार्टीकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री साहले संवैधानिक संस्कार, संसदीय परम्परा विपरित गैरजिम्मेवार ढंगले राष्ट्रपति जस्तो गरिमामय पदको समेत अपमान हुनेगरी बैठक कक्षबाट बाहिरिएको घटना लोकतान्त्रिक संसदीय इतिहासमा नै विरलै घटने घटनाको रुपमा चित्रण गर्दै तत्सम्बन्धिमा तत्काल संसदमा जवाफ दिन माग गरेकी हून् ।

उनले प्रधानमन्त्री साहलाई संवैधानिक पदको सम्मान गर्न,संसदीय परम्परालाई कमजोर नबनाउन र भविष्यमा यस्ता घटनाको पुनरावृत नगर्न पनि सचेत गराइन् ।

सांसद थापाले सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला सरकार प्रमुख नै बाहिरिनुले सरकारको गम्भीरतामाथि प्रश्न उठेको उल्लेख गर्दै यसबारे प्रधानमन्त्रीले सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

उनले लोकतन्त्रमा पदभन्दा ठूलो मर्यादा हुने स्मरण गराउँदै संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई नधमिल्याउन सरकारलाई सचेत गराएकी छन्।

यो घटना सामान्य नभएकाले सरकारले यस विषयमा आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने र यस्ता क्रियाकलापले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने उनको दाबी छ।

प्रकाशित मिति : बैशाख २९, २०८३ मंगलबार  १ : ४६ बजे