प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउने मिति तोक्ने आधार र अधिकार मैले देखेको छैनः सभामुख अर्याल



काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले आफू प्रधानमन्त्री बालेन्द्र साहलाई संसदको बैठकमा उपस्थितिका लागि मिति तोक्ने कुनै अधिकार नभएको बताएका छन् ।

विपक्ष दलका सांसदहरुले प्रधानमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग उपस्थित गराउनका लागि रुलिङ गर्न विपक्ष दलका सांसदहरुले माग गरेपछि उनले सो कुरा प्रष्ट्याएका हून् ।

सभामुख अर्यालले भने, ‘हामी कानुन निर्माणको थलोमा छौँ । हामी त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिहेका छौँ । हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ । तर, अहिले माननीय सदस्यहरूले के प्रश्न गरिरहनुभएको छ भने सम्माननीय प्रधानमन्त्री आउने सुनिश्चितता गर्नुपर्‍यो भनेर । म माननीय सदस्यहरूलाई आगामी दिन पनि कोही पनि माननीय सदस्यज्यूहरूको सम्माननीय प्रधानमन्त्रीज्यूको मात्रै होइन, कोही पनि माननीय सदस्यज्यूहरू भोलि यो सदनमा आउन सक्नु हुन्छ वा सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका सोध्न सक्ने कुनै आधार अधिकार मैले देख्दिनँ ।’

सभामुख अर्यालले कुनैपनि सांसदहरुलाई सभामा उपस्थितिका लागि कार्यतालिका तोक्ने अधिकार र आधार आफूसँग नभएको स्पष्ट पारे।

प्रकाशित मिति : बैशाख ३०, २०८३ बुधबार  ३ : ५६ बजे