संसदीय दायित्वबाट प्रधानमन्त्री भाग्न खोजे : योगेश भट्टराई



काठमाडौं । नेकपा एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह संसदीय दायित्वबाट भाग्न खोजिरहेको बताएका छन्।

प्रधानमन्त्री संसदमा जबाफ दिन नआएपछि सामाजिक सञ्जालमार्फत् भट्टराईले संसदीय दायित्वबारे बताएका हुन्।

उनले लेखेका छन् ‘संसदीय लोकतन्त्रको अभ्यास गरिरहेका मुलुकहरूमा जनप्रतिनिधि थलो संसदको गरिमा र महत्व उच्च रहेको हुन्छ । संसदले नै प्रधानमन्त्री चुन्ने व्यवस्थाका कारण संविधानमा प्रधानमन्त्री संसद र जनताप्रति समान रूपमा उत्तरदायी हुने प्रबन्ध गरिएको हो ।’

प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुलाई आफ़नो कर्तब्य र दायित्वका रूपमा बुझ्नुपर्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसदको निर्णय र निर्देशन पालना गर्ने गराउने कुरा हो र यसलाई प्रधानमन्त्रीले आफ़नो कर्तब्य र दायित्वका रूपमा बुझनु पर्दछ,’ उनले भने ‘तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनु भएको छ ?’

प्रकाशित मिति : बैशाख ३१, २०८३ बिहीबार  ११ : ३० बजे