सुकुम्बासीका प्रतिपरिवारलाई १५ हजार राहतले पुग्दैन, तत्काल बढाउने निर्णय गरियोस्: गुरुप्रसाद बराल



काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)ले घरबासविहीन अवस्थामा पुगेका सुकुम्बासीहरुका प्रतिघरपरिवारलाई जेठ, असार र साउन महिनाका लागि १५/१५ हजारका दरले राहत दिने सरकारको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद गुरुप्रसाद बरालले उनीहरुले जीवन धान्न पनि नपुग्ने रकम भएकाले उक्त रकम बढाउन सरकारसँग माग गरेका हून् ।

उनले अस्थायी बसोवासका लागि उनीहरुका प्रतिघरपरिवारलाई २५ हजारका दरले राहत दिने सरकारको निर्णयमा पनि आपत्ति जनाए ।सरकारको यो निर्णय पनि सुकुम्बासीमाथिको ठूलो हमलाको रुपमा आएको उपाध्यक्ष बरालको जिकिर थियो ।

उनले सरकारले जेठ, असार र साउन गरी तीन महिनासम्म प्रतिपरिवार १५/१५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय व्यावहारिक नभएको बताए । ‘पाँच जनाको परिवारलाई हिसाब गर्दा प्रतिव्यक्ति दैनिक करिब एक सय रुपैयाँ मात्रै पर्छ । यस्तो रकमले काठमाडौं आसपासमा कसरी जीवनयापन सम्भव हुन्छ ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : जेष्ठ ६, २०८३ बुधबार  १२ : २० बजे