काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता प्रणाली मिचेर राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।
बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हून् ।
सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए ।
‘अहिले सरकारपक्षलाई वरीयता मिचेर चौथो वरीयतामा रहनुभएका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएको आरोप लागिरहेको छ,’ पुनले भने, ‘उहाँहरूले राजनीति गर्नुभयो, ८० वर्ष न्याय इतिहासमा वरीयता मिच्नुभयो भन्ने आरोप छ ।’
उनले विगतमा आफू समाहित दलले न्यायालयमा राजनीति नगरेको पनि स्पष्ट पारे ।उनले संसदीय सुनुवाइ समितिमा समेत प्रक्रिया पूरा गर्नुपर्ने आफ्नो पक्षको माग बेवास्ता गर्दै सत्तापक्षले नियुक्ति प्रक्रियामा अत्यधिक हतार गरेको टिप्पणी गरे ।














