काठमाडौं । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद राजेन्द्रकुमार राईले एक हप्ताभित्र सरकारले बाँदर आतंक नियन्त्रणका लागि ठोस कदम नचाल्ने संसद बैठक चल्न नदिने चेतावनी दिएका छन् ।
सांसदहरुले यस समस्याबारे बारम्बार संसदमा कुरा उठाउँदा पनि सरकार गम्भिर नभएको भन्दै उनले सो समस्या समाधान लागि ७ दिनभित्र पनि उचित कदम नचाले संसद बैठक संचालनमा कठिनाई हुने बताएका हून् ।
उनले भने, ‘बाँदरको विषयमा सरकार किन सिरियस हुँदैन । यदी कोही मान्छेले बदमासी गर्यो भने उसलाई पुलिसले हातहरु बाँधेर लान्छ र जेलमा थुन्छ । आज बाँदरले सयौं मानिसहरुलाई बसाइ गराइसक्यो । सयौं मानिसहरुले दाल, भात, तरकारी खान पाएका छैनन् । यसबारे सरकार किन सिरियस हुँदैन । जनताको जीवनमा जुन ठूलो समस्या बाँदर भएको छ यो बाँदरलाई नियन्त्रण गर्न सकिएन भने जनताको जीवन परिवर्तनमा ठूलो समस्या हुन्छ ।’
बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भिर बन्नुपर्ने बताए ।














