काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णहरि बुढाथोकीले आइतबार र शनिबार बिदा दिने निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनै पनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद बुढाथोकीले भने,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो प्राप्त भयो । यसले विद्यार्थी बरालिने र पाठयक्रम पूरा गर्न समस्या सृजना गरेको छ । सार्थ २ दिनको बिदाको कारण नागरिकहरु आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । गाउँमा विद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्तै न्युन भएर विद्यार्थीहरुको लागत बढिरहेको छ । विद्यालयहरु समायोजन गरी आवासीय विद्यालयहरु बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’














