गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ: प्रथम राष्ट्रपति यादव



काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियनको ३५ औं स्थापना दिवस तथा विधान सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेनले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीले राष्ट्रलाई देशको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र अन्तर्राष्ट्रिय सम्बन्धबारे स्पष्ट दृष्टिकोण दिनुपर्छ। सम्पूर्ण नेपाली जनता त्यो सुन्न आतुर छन ।’

लोकतान्त्रिक व्यवस्थामाथि विश्वभर चुनौती बढिरहेको उल्लेख गर्दै यादवले नेपालमा पनि लोकतान्त्रिक मूल्य र संस्थालाई सुदृढ गर्न आवश्यक रहेको बताए । उनले भने, ‘हाउस, सरकार, न्यायालय र राष्ट्रपतिको संस्था बीच समन्वय भएर मात्रै लोकतान्त्रिक प्रणाली सफल हुन्छ ।’

पूर्वराष्ट्रपति यादवले संविधान समयानुकूल परिमार्जन हुँदै दीर्घकालसम्म कायम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई गणतन्त्र दिवसको शुभकामना पनि दिए ।

प्रकाशित मिति : जेष्ठ १३, २०८३ बुधबार  ३ : ३४ बजे