संघीय संसदमा आज बजेट प्रस्तुत हुँदै



काठमाडौं । आगामी आर्थिक वर्ष २०८३’८४ को बजेट आज सार्वजनिक हुँदैछ ।

आज अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक ‘संघीय संसदको बैठक’ मा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने छन् ।

बजेटमार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री वाग्लेले बताएका छन्। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाएर आउने पाँच वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने उनको तयारी छ।

बजेटमा बर्सौंदेखि रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत गतिमा सम्पन्न गर्ने र कमजोर अवस्थाका सार्वजनिक निकाय खारेज गर्नेसम्मको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम १५ प्रतिशत तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने तथा व्यक्तिगत आयकरको सीमा बढाउनेलगायतका कार्यक्रम बजेटमा समेटिँदै छन्। उपभोग र लगानी बढाउँदै बढीमा सात वर्षभित्र नेपाललाई एक सय अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य अर्थ मन्त्रालयले राखेको छ। यस पटक बजेटको आकार २० खर्ब रुपियाँ नाघ्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : जेष्ठ १५, २०८३ शुक्रबार  ८ : १२ बजे