काठमाडौं, जेठ १८ ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन -क्रस–होल्डिङ_ फरक विषय भएको उल्लेख गर्दै कुनै देशले अर्को देशको स्वामित्वमा रहेको भूभागमा अनधिकृत रूपमा कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण मानिने स्पष्ट पारिएको छ ।
भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा एकतर्फी रूपमा अतिक्रमण गर्दै आएको दाबी गर्दै त्यसलाई तोडमोड गरी नेपालले पनि भारतको भूमि कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात भएको पार्टीको भनाइ छ ।
नेकपाले सुगौली सन्धि तथा पुराना सीमा स्तम्भका आधारमा निर्धारण गरिएको नेपाल–भारत सीमारेखाका कारण सीमावर्ती नागरिकका खेतीयोग्य जमिन वा सम्पत्ति दुवैतर्फ पर्नसक्ने भएपनि त्यसलाई कब्जा भन्न नमिल्ने जनाएको छ । यस्तो अवस्थालाई जग्गाको भोगचलनको अवस्था मात्र मान्नुपर्ने पार्टीको तर्क छ ।
विज्ञप्तिमा नेपाल र भारतबीच सीमा विवाद रहेको र त्यसको समाधान कूटनीतिक माध्यमबाट हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख गरिएको छ । तर हालसम्म नेपालले भारतको कुनै पनि भूभाग कब्जा नगरेको तथ्यका आधारमा मात्र नेपालको दाबी कायम रहने पार्टीको भनाइ छ । यही आधारमा लिम्पियाधुरा क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरिएको स्मरण गराइएको छ ।
पार्टीले सीमा समस्या समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले हालसम्म सार्वजनिक नगरेको विषय पनि उठाएको छ । यस्तो संवेदनशील अवस्थामा प्रधानमन्त्रीबाट व्यक्त धारणा राष्ट्रियता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि गम्भीर चोट पुग्ने खालको भएको नेकपाको निष्कर्ष छ । नेकपाले प्रधानमन्त्रीको उक्त भनाइ तत्काल सच्याउन, संसद्को अभिलेखबाट हटाउन तथा राष्ट्रिय हितका विषयमा राष्ट्रिय सहमति कायम गर्दै तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन सरकारसँग माग गरेको छ ।














