काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेका थिए। उक्त अभिव्यक्ति हटाइएन भने सदनको कारबाही अघि बढ्न नदिने अडान विपक्षी सांसदहरूले राखेका थिए।
विपक्षी दलका तर्फबाट धारणा राखेपछि सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। सभामुखले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न र बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि उनीहरू नमानेपछि सदनको अवरोध कायमै रहेको थियो।
सदनको अवरोध हट्ने अवस्था नदेखिएपछि सभामुखले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरेका थिए।














