ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार !



काठमाडौं । नेकपा (एमाले) का अध्याक्ष केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउनेको खोजी नगर्ने सरकारले आफूसँग सम्पत्ति विवरण मागेको भन्दै आक्रोश पोखेका छन् ।

अध्यक्ष ओलीले सम्पत्ति छानबीन आयोग वयान नदिने र सम्पति विवरण नभर्ने घोषणा गरेका हुन् ।

राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आयोगको कुनै वैधानिक मान्यता नभएको जिकिर गर्दै आफूले सम्पत्ति विवरण समेत नबुझाउने स्पष्ट पारेका हुन् ।यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’

अध्यक्ष ओलीले वर्तमान सरकार पूर्वाग्रह र प्रतिशोधको भावनाबाट ग्रसित रहेको आरोप लगाउँदै विपक्षी दलहरूलाई राजनीतिक रूपमा फसाउन र कमजोर पार्नका लागि मात्रै आयोग गठन गरिएको दाबी गरे ।

सम्पत्ति विवरण माग गरिएकोप्रति तीव्र आक्रोश पोख्दै अध्यक्ष ओलीले आफ्नो सम्पत्ति सम्बन्धी विवरण ‘खरानी’ भइसकेको भन्दै सरकारमाथि कडा व्यङ्ग्य प्रहार गरे । उनले आक्रोशित मुद्रामा थपे, ‘मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले । सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?’

प्रकाशित मिति : जेष्ठ २०, २०८३ बुधबार  १ : ४८ बजे