काठमाडौं । विपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले वैदेशिक मामिलाको सवालमा संवेदनशीलता अपनाउन सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफनो भारत भ्रमण लगत्तै सोमवार बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले उक्त सुझाव दिएको बताएका हून् ।
अध्यक्ष लिङदेनले भने ,‘यो सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् । चाहे प्रधानमन्त्रीले सीमा सम्बन्धमा अस्ती संसदमा दिनुभएको मन्तव्य होस् । अथवा रास्वपाका सभापतिले भारतमा गएर हामीले विगतको भारी बोक्दैनौ भन्नुभएको कुरा होस् । त्यसले धेरै अर्थ राख्छ । अहिले हामीले सुझाव दियौ । त्यस्ता कुराहरुलाई होशियारीपूर्वक प्रयोग गरियोस भनेर भन्यौँ । विगतको भारी बोक्दैनौ भन्नुको अर्थ त विगतमा सबै नराम्रा भएका थिए । हामीले लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो भनेर हाम्रो ऐतिहासिकता, हाम्रो तथ्य, प्रमाणहरुको आधारमा त्यसलाई सर्वसम्मतीले संसदबाट पारित गरेर संविधानको अनुसूचिमा समेत समावेश गरिसकेको चिज त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ । त्यसलाई पनि नयाँ ढंगले छलफल गर्न सकिन्छ भन्ने खालको अर्थ लाग्न सक्छ । त्यसकारणले वैदेशिक सवालको सम्बन्धमा संवेदनशीलता अपनाइयोस । र अहिले रास्वपाले जुन जीत हासिल गरेको छ । र भारत भ्रमणमा पनि सभापतिजीले जुन विशेष खालको स्वागत प्राप्त गर्नु भएको छ । त्यसलाई अवसरमा परिणत गर्नुस भनेर सुझाव दिएको छु ।’
अध्यक्ष लिङदेनले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा र सभापति लामिछानेले भारत भ्रमणको क्रममा आफूले विगतको भारी नबोक्ने भनि दिएको अभिव्यक्ति अपरिपक्व र नेपालले संसदबाट सर्वसम्मतीले पारित गरेको लिपुलेक, लिम्पियारधुरा र कालापानी नेपालको हो भनि गरेको प्रमाणलाई समेत कमजोर बनाउने खालको भएको जिकिर गर्दै त्यस्ता कुराहरुमा होशियारी अपनाउन पनि आग्रह गरे ।














