काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतीय सीमा सुरक्षा बलले सुस्तामा नेपाली नागरिकमाथि हप्कीदप्की गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त सुरक्षा बलले नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे रक्षामन्त्रीले तत्काल जवाफ दिनुपर्ने बताए ।
अध्यक्ष राईले नेपाली सेना भने सीमा क्षेत्रमा जानै नहुने के कमस खाएर बसेको छ भनि कटाक्ष समेत गरे । उनले सरकारले यदि नेपाली सेनाले सीमामा गएर अवलोकन गर्न नपाउने कुनै सन्धि सम्झौता भएको भए त्यसको पत्र पनि संसदलाई जानकारी गराउन सचेत गराए ।
उनले भने, ‘म प्रश्न राख्न चाहन्छु, नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ र? रक्षा मन्त्रीलाई सभामुखले बोलाइदिनुपर्छ । उहाँलाई म प्रश्न सोध्न चाहन्छु, यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी (सशस्त्र सीमा बल) आएर नेपाली दाजुभाइहरूलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिको लागि लड्दै, भिड्दै गरेको अवस्थाका भिडियोहरू सार्वजनिक भएका छन् ।’
उनले उक्त घटनाप्रति नेपाल सरकार र रक्षा मन्त्रालयको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री संसदमा उपस्थित नभएको अवस्थामा रक्षा मन्त्रीलाई बोलाएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने उनको माग थियो ।
उनले भने, ‘यसतर्फ नेपाल सरकारले र रक्षा मन्त्रीले ध्यान दिनुपर्यो । संसदमा प्रधानमन्त्री त आउनुहुन्न, रक्षा मन्त्री छन् भने खोजेर ल्याइदिनुपर्यो ।’
अध्यक्ष राईले आफनो भूमिको लागि नेपाली नागरिकले मात्रै लडनुपर्ने दुखद अवस्था आउँदा पनि सरकारले चासो नदिएको भन्दै आक्रोश पनि व्यक्त गरे।














