गिरिबन्धु टी–स्टेटको फाइल खोल्न सरकारलाई एमालेको चुनौती



काठमाडौं । नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएकी हून् ।

उनले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै उनले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिइन् ।

उनले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गरिन् । उनले विपक्षीमाथी लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै उनले प्रश्न गरिन्। सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको बताइन् ।

उनले भनिन्, ‘प्रतिपक्षीले बजेटका सम्बन्धमा राखेका सल्लाह, सुझाव प्रश्न गर्दैगर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चीज बताउनुभयो, त्यो आपत्तीजनक छ । कसलाई लक्षित गर्नुभयो ? उहाँले फाईल खोल्ने धम्की दिनुभएको छ, म भन्न चाहन्छु, टी स्टेटको फाईल पहिलो नम्बरमा खोलियोस्, म आग्रह गर्न चाहन्छु, त्यसपछि विपक्षीसंग जोडिएका ओम्नी हुन् की वाईडवढी हुन की के के फाईल हुन, तपाईहरुको हातमा छ, सरकारलाई भन्न चाहन्छु, यो सदनमार्फत ती खोलियोस् । साँचो कुरा के हो ? त्यो बाहिर ल्याईयोस् । यद्यपी आज लगाईरहेका आरोपहरु सावित भएनन् भने, छानविनले सत्य ठहरिएनने भने मान्छेमा स्वाभिमानमाथी आँच आउने, गम्भिर आरोपहरु लगाउने अनि त्यसको जिम्मेवारी लिएर कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ, कि गर्नुहुन्न ?’

प्रकाशित मिति : असार १, २०८३ सोमबार  १२ : ४० बजे