प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा संसदमा मतदान गर्नुपर्ने अवस्था आयोः काँग्रेस सांसद यादव



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गर्न माग गरेकी छिन् ।

प्रधानमन्त्री साहले दिएको अभिव्यक्ति संसदले निक्र्यौल गर्नुपर्ने भएकाले पनि संसदमा यस सम्बन्धमा गोप्य मतदान गर्न आवश्यक रहेको सांसद यादवको तर्क थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री साहको अभिव्यक्ति पछि सुस्तालगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गर्ने गरेको भन्दै यसको जवाफ कसले दिने भनि सरकारलाई प्रश्न पनि गरिन् ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति पश्चात देशमा जुन क्रियाकलाप भइराखेको छ। सीमामा त्यो क्रियाकलाप भइराखेको छ। त्यसको जिम्मेवारी कसले लिने सभामुख महोदय ? सुस्तामा हाम्रा नागरिकले भारतीय सीमा सुरक्षा बललाई धपाउनुपर्ने अवस्था आएको छ। त्यसको जवाफ कसले दिन्छ सभामुख महोदय । संसदमा यसको बारेमा गोप्य मतदान गरी निक्र्यौल गरौ सभामुख महोदय’, यादवले भनिन्।

सांसद यादवले प्रधानमन्त्री साहले संसदमा दिनु भएको उक्त अभिव्यक्तिको जवाफ नआएसम्म आफूहरुको विरोध यथावत रहेको पनि बताइन् ।

प्रकाशित मिति : असार २, २०८३ मंगलबार  १२ : २३ बजे