काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा ९एमाले० सँग तत्काल पार्टी एकताको कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेका छन्।
शनिबार कोटेश्वरस्थित पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाहिर आएका सतही हल्लाहरूको पछि नलाग्न पार्टी कार्यकर्ता तथा बुद्धिजीवीहरूलाई आग्रह गरे। मिडिया र सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचारले बुद्धिजीवीहरू समेत प्रभावित हुने गरेको भन्दै उनले वस्तुगत राजनीतिक परिस्थितिको गहिरो विश्लेषण गर्नुपर्नेमा जोड दिए।
पार्टी एकताको हल्लाले आफूलाई फोनको जवाफ दिँदा–दिँदै हैरान बनाएको उल्लेख गर्दै उनले भने, “सुनियो कि एमालेसँग एकता हुन लागेको छ, भनिसकेपछि बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्ने रहेछ। तर यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छ ररु सम्भवै छैन। त्यसैले यस विषयमा तपाईंहरू कोही पनि भ्रममा नपर्नुहोस्। भित्री अन्तर्विरोधहरू बुझ्न सक्नुपर्छ।”
पार्टीको आगामी कार्यदिशाका बारेमा चर्चा गर्दै नेता नेपालले अहिलेको मुख्य कार्यभार देशभक्त, क्रान्तिकारी र गणतन्त्र पक्षधर लोकतान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा गोलबन्द गर्नु रहेको बताए। राष्ट्रिय हित, जनहित र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने मुख्य जिम्मेवारी आफ्नो पार्टीको काँधमा रहेको उनको दाबी थियो।














