विकल्पविना सुकुम्बासीको उठीबास नगर्न र किसानका समस्या समाधान गर्न सांसद गुरुङको माग



काठमाडौं । नेपाली काँग्रेसकी सांसद दुर्गा गुरुङले विकल्पविना भूमिहीन र सुकुम्बासीको उठीबास नगर्न सरकारसँग माग गरेकी छिन् ।

राष्ट्रिय सभाको सोमवारको बैठकमा बोल्दै सांसद गुरुङले विकासका नाममा मानवीय संवेदनालाई बेवास्ता गर्दै नागरिकलाई सडकमा पुर्याउने कार्य लोकतान्त्रिक राज्यका लागि शोभनीय नभएको बताइन्।

सांसद गुरुङले देशका विभिन्न स्थानमा बल प्रयोग गरी घर भत्काउने र उठीबास गराउने घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गरिन् । एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित, ज्येष्ठ नागरिक र बालबालिकाको उठीबास गराउँदा उनीहरूको जीवन कष्टकर बनेको तर्फ उनले सरकारको ध्यानाकर्षण गराइन् ।

उनका अनुसार घर भत्काइएपछि धेरै बालबालिकाको अध्ययन प्रभावित भएको, विद्यालय जाने वातावरण बिग्रिएको तथा स्वास्थ्य सेवा प्राप्त गर्नसमेत कठिनाइ उत्पन्न भएको छ। गरिब नागरिकको घर भत्काएर मात्र विकास सम्भव नहुने भन्दै उनले सामाजिक न्यायलाई केन्द्रमा राखेर नीति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरिन्।

सांसद गुरुङले भूमिहीन र सुकुमबासीलाई अपराधीको रूपमा व्यवहार नगर्न सरकारसँग माग गर्दै संवाद, कानुनी प्रक्रिया र न्यायोचित पुनर्स्थापनामार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखिन्।

प्रकाशित मिति : असार १५, २०८३ सोमबार  २ : २९ बजे