काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शुन्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन निर्देशन दिएका हून् ।
राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आएपनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो ।
‘राष्ट्रियसभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शून्य समय, विशेष समय र प्रादेशीक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,’ अध्यक्ष दाहालले बैठकमा निर्देश गर्दै भने ।














