काठमाडौं । अल्जेरियालाई २–० ले पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
अन्तिम ३२ को नकआउट भिडन्तमा स्विट्जरल्यान्डले खेलको दुवै हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो ।
खेलको १० औँ मिनेटमै जे डब्लू मान्जाम्बीको पासमा एम्बोलोले गोल गर्दै स्विट्जरल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० को स्थिति रहेको खेलको दोस्रो हाफ सुरु हुनासाथ ४६ औँ मिनेटमा डान न्डोएले गोल गरेपछि स्विट्जरल्यान्डले आफ्नो अग्रता दोब्बर बनायो ।
खेलको अन्तिम समयतिर स्विट्जरल्यान्डले अग्रता अझ फराकिलो बनाउने थुप्रै अवसर पाएको थियो । एम्बोलोले व्यक्तिगत तेस्रो गोलका लागि गरेको प्रहार पोस्टभन्दा माथि र बाहिर जाँदा उनी चुकेका थिए ।
त्यसको केही बेरमै फाबियन रिडरले खेलको सबैभन्दा सजिलो र सुनौलो अवसर गुमाए । उपलव्ध भएको लो क्रसलाई पोलको ठीक अगाडि रहेका रिडरले सहजै गोल गर्नुपर्नेमा अल्जेरियन गोलकिपर लुका जिदानतर्फ प्रहार गरेपछि खेल २–० मै टुङ्गिएको थियो ।
अल्जेरियाले पहिलो हाफमा केही सुधारेको खेल प्रदर्शन गरे पनि फिनिसिङ लाइनमा लगातार चुक्नु र दोस्रो हाफको सुरुमै गोल खानु उसको हारको मुख्य कारण बन्यो ।
यो जितसँगै स्विट्जरल्यान्डले विश्वकपको अर्को चरणको यात्रा तय गरेको छ ।
अब अन्तिम १६ मा स्विट्जरल्यान्डले कोलम्बिया र घाटामध्ये एक देशसँग प्रतिस्पर्धा गर्नेछ ।
अल्जेरिया भने विश्वकपबाट बाहिरिएको छ ।














