गगन थापा भन्छन्– ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन सक्दैन



काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै ‘लफङ्गा’ पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गरेका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सुक्ष्म पक्षलाई हलुका रुपमा लिइरहेको टिप्पणी गरे । उनले संविधान संशोधन र पुनरावलोकन आवश्यक भएपनि हतार, हचुवा र गैरजिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिए ।

“संविधान संशोधन र पुनरवलोकन एकदमै गर्नुपर्नेछ । तर, यस्तो हचुवा पाराले होइन । यहाँ त एकैछिनमा आगो बल्छ । अधिकारको विषय त्यतिबेलासम्म मात्र गौण हुन्छ जतिबेलासम्म अधिकार प्राप्त भइरहेको हुन्छ । तर, यदि अधिकारको विषय चलाइयो भने त्यसपछि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यही बन्छ,” उनले भने, “यी विषयमा हल्का पाराले, अझ म त भन्छु ‘लफंगा’ पाराले जे मन लाग्यो त्यही बोलिदिएको छ, जे मन लाग्यो त्यही गरिदिएको छ । यो गम्भीर चिन्ताको विषय हो ।”

थापाले संविधान संशोधनमार्फत राज्यका संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : असार २१, २०८३ आईतबार  ४ : १५ बजे