प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं,असार २४ । सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।

बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पैँतीसौँ वार्षिक प्रतिवेदन २०८१/०८२ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गरिनेछ।

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  ८ : २८ बजे