काठमाडौं । होर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण गरेको बदलामा अमेरिकाले इरानमा शृङ्खलाबद्ध शक्तिशाली प्रहार गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले मङ्गलवार थालिएको प्रहार निर्दोष मानिस सवार व्यापारिक जहाजलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा निसानामा पार्ने र आक्रमण लक्षित भएको जनाएको छ।
सो जलमार्गमा चल्ने ट्याङ्करहरूमाथिको आक्रमणलाई अमेरिकाले पूर्णत: अस्वीकार्यु भन्दै आएको छ।
सेन्टकमले मङ्गलवार राति जारी गरेको विज्ञप्तिमा अमेरिकी प्रहार इरानी आक्रमणको जवाफस्वरूप गरिएको जनाइएको छ।
इरानले प्रदर्शन गरेको आक्रामकता अनावश्यक, खतरनाक तथा युद्धविरामको स्पष्ट उल्लङ्घन हो, उसले भनेको छ।
ती प्रहारहरूभन्दा अगाडि अमेरिकी अर्थ मन्त्रालयले इरानमाथि लागेको तेल प्रतिबन्धलाई अस्थायी रूपमा हटाउने अघिल्लो निर्णय उल्ट्याएको थियो।
इरानका उपविदेश मन्त्रीले अमेरिकी प्रहारले गत महिना हस्ताक्षर गरिएको अमेरिका-इरान समझदारीको उल्लङ्घन हुने भन्दै तेहरानले ूनिर्णायक कदम चाल्ने चेतावनी दिएका छन्।
इरानी सरकारी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी सेनाले केश्म टापु, बन्दार अब्बास तथा सिरिकमा प्रहार गरेको छ जसका कारण केही मानिस घाइते भएका छन्। कसैको ज्यान गएको खबर आएको छैन।
इरानलाई उसका तेल तथा पेट्रोलियम पदार्थ बेच्न अनुमति दिने लाइसन्स वाशिङ्टन र तेहरानले हालै हस्ताक्षर गरेको समझदारीअनुसार जारी गरिएको थियो।
इरानको विदेश मन्त्रालयले पछिल्लो निर्णयले समझदारी उल्लङ्घन गरेको भन्दै त्यसले अमेरिकी सरकारको खराब नियत, असङ्गतीपूर्ण तथा भरोसा गर्न नसकिने व्यवहार प्रमाणित गरेको जनाएको छ।
आफ्नो राष्ट्रिय स्वार्थ र सुरक्षाका निम्ति सबै आवश्यक कदम चाल्ने तेहरानले भनेको छ।
सेन्टकमले जानकारी दिनु अगाडि नाम उल्लेख नगर्ने शर्तमा बोल्दै एक अमेरिकी अधिकारीले इरानसँगको अन्तिम सम्झौताका निम्ति अमेरिकी वार्ताकारहरूले असल नियतका साथ कुराकानी जारी राख्ने बताएका थिए।
उक्त जलमार्गमा आ(आफ्ना ट्याङ्करमाथि आक्रमण भएको भन्दै कतार र साउदी अरेबियाले इरानको आलोचना गरेका छन्।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले अल(रेकायत नामक जहाजमाथि भएको आक्रमणका निम्ति इरान पूर्ण जिम्मेवार रहेको बताए।
इरानले क्षेत्रीय सुरक्षामा आँच पुग्ने सबै कार्य तत्काल रोक्नु पर्ने कतारले माग गरेको छ।
साउदी अरेबियाको विदेश मन्त्रालयले साउदी ट्याङ्कर वाद्यानमाथि आक्रमण भएको जनाएको छ।
सो आक्रमणलाई उसले अन्तर्राष्ट्रिय जलयात्राको सुरक्षामाथि तथा विश्वव्यापी ऊर्जा आपूर्तिमाथिको आक्रमण भनेको छ।
अमेरिका र इजरेलले फेब्रुअरी २८मा इरानमाथि आक्रमण गरे लगत्तै तेहरानले होर्मुजको जलमार्ग बन्द गराइदिएको थियो।
सो जलमार्ग भएर विश्वको करिब २० प्रतिशत ग्यास तथा तेल आपूर्ति हुने गर्थ्यो।
युद्धको अवधिमा इरानले होर्मुज जलमार्गमा आफ्नो सम्प्रभुता कायम राख्ने कोसिस गरेको थियो। त्यसका निम्ति उसले पर्सिअन गल्फ स्ट्रेट अथरिटी भन्ने निकाय खडा गर्दै आइन्दा उसैले सुरक्षित यात्राको अनुमति दिने जनायो।
इरानको फार्स न्यूज एजेन्सीका अनुसार अमेरिकासँगको ताजा सहमतिबमोजिम उक्त जलमार्ग ओमानसँगको समन्वयमा इरानले व्यवस्थापन गर्ने छ जसमा सो जलमार्ग प्रयोग गर्ने जहाजहरूमाथि सम्भावित् ूसेवा शुल्कू तोक्ने विषय समेत रहेको छ।
तनाबसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार यी प्रतिबन्धहरू आउँदो जुलाई १७ देखि पूर्ण रूपमा लागू हुनेछन्।
अमेरिका-इरान तनाव र जलसन्धिमा भएको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी क्रुड फ्युचर्स (कच्चा तेल) को मूल्य २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलर पुगेको छ।














