स्थानीयले पानी नपाए मेलम्चीको आपूर्ति ठप्प पार्ने रास्वपा सांसद पाण्डेको चेतावनी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले खानेपानी नपाए काठमान्डौँतर्फको पानी आपूर्ति अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर नगरपालिकाका स्थानीय बासिन्दा खानेपानी अभावका कारण काकाकुल हुनुपरेको भन्दै असन्तुष्टि जनाए ।

उनले मेलम्ची आयोजनाको मुहान क्षेत्र तथा ड्याम रहेको सुन्दरीजल र गोकर्णेश्वरका बासिन्दाले समेत पर्याप्त खानेपानी नपाएको बताए । खानेपानी वितरण प्रणालीमा कर्मचारी र प्राविधिकको मिलेमतो रहेको आरोप लगाउँदै उनले त्यसकै कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको दाबी गरे ।

बैठकमा उनले भने, “ड्याम गोकर्णेश्वरमा छ, तर त्यहाँका १ देखि ९ नम्बर वडासम्मका बासिन्दा पानी नपाएर तड्पिरहेका छन् । मुहान क्षेत्रका बासिन्दाले पानी नपाउने तर त्यहीँबाट अन्यत्र पानी पठाइने अवस्था अब स्वीकार्य छैन । स्थानीयको समस्या तत्काल समाधान नभए हामी ड्याम बन्द गरेर पानी रोक्न बाध्य हुनेछौँ । म अन्य नेताजस्तो आश्वासन मात्र दिने पक्षमा छैन । यदि गोकर्णेश्वरका जनताले पानी पाएनन् भने म आफैँ अगाडि लागेर पानी रोक्नेछु ।”

प्रकाशित मिति : असार २४, २०८३ बुधबार  २ : ५७ बजे