काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधानका आधारभुत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनैपनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हून्।
सभापति थापाले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयहरू नेपाली काँग्रेसका लागि अपरिवर्तनीय रहेको बताए ।
‘नेपाली कांग्रेसले आफ्नो प्रतिज्ञापत्र, पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयबाट स्पष्ट पारिसकेको छ’, उनले भने, ‘संविधानको आधारभूत विषय लोकतन्त्र,गणतन्त्र, सङ्घीयता, समावेशिता,संसदीय शासन प्रणाली,बहुजातीयता, बहुधार्मिकता लगायतका विषयमा कांग्रेसले कुनै पनि सम्झौता गर्दैन ।’
उनले यी विषयहरू पार्टीको विधान र केन्द्रिय कार्यसमितिको निर्णयबाट समेत प्रष्ट भइसकेको उल्लेख गर्दै यसमा कुनैपनि प्रकारको सम्झौता हुन नसक्ने जिकिर गरे ।














