काठमाडौं,२६ असार । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राज्यका निकायबाट हुने दुर्व्यवहार र प्रताडनाका कारण नागरिक आत्मदाहजस्तो चरम कदम चाल्न बाध्य हुनुपर्ने अवस्था सिर्जना हुनु गम्भीर विषय भएको बताए ।
‘महानगर प्रहरीले गर्ने प्रताडनाका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारणले डिप्रेसनमा रहेको परिवारको कुरा आयो । घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ उनले पत्रकारहरूसँग भने, ‘तर, अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य या राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदुर वर्गलाई दुर्व्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन् । यो राम्रो होइन । राज्यको दायित्व काम गरेर खाने जनताको पक्षमा हुनुपर्ने हो, तर त्यसको विपरीत देखिएको छ ।’
आङ्देम्बेले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति निम्तिनुको कारण बाहिर ल्याउन सरकारसँग माग गरे । ‘गणेशले बोल्न सकुञ्जेल परिवारलाई ‘मलाई यसरी प्रताडित गरिएको छ’ भनेको रहेछ । यसको गम्भीरतापूर्वक छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । यो खालको अवस्था रहिरह्यो भने राम्रो हुँदैन ।’
राइड–सेयरिङ चालकहरू स्वरोजगार भएको र उनीहरूमाथि राज्य पक्षबाट भएको दुर्व्यवहारको आङ्देम्बेले भर्त्सना गरेका छन् ।
उनले भने, ‘राइड–सेयरिङ भनेको दुई छाक खानका लागि दुःख गरेर कमाउने र परिवार पाल्ने मजदुरहरूले प्रयोग गर्दै आएको प्लेटफर्म हो । तर तिनै मजदुरहरूलाई सडक किनारामा मोटरसाइकल पार्किङ गरेको भन्दै राज्यले दुर्व्यवहार गर्नु ठिक होइन ।’
आङ्देम्बेले गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । राइड–सेयरिङ चालकहरूमाथि हुने दुर्व्यवहार रोक्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरे ।














