काठमाडौं, असार २६ । नेकपा (एमाले) की सांसद साजिदा खातुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खातुनले राहदानी विभाग नजिक २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयासपछि भएको मृत्यु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै यसको कारण र पृष्ठभूमिप्रति सरकार सचेत हुनुपर्ने बताइन् । उनले नागरिकलाई निराशाको अवस्थामा पुग्न बाध्य बनाउने परिस्थिति सिर्जना हुनुमा राज्यको भूमिका र जिम्मेवारीबारे प्रश्न उठाइन् ।
उनले भनिन्, ‘ विरोध त सरकारसँग छ । सबैभन्दा ठूलो कारण हो, र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । नागरिकलाई निराशाको अवस्थामा पुर्याउने परिस्थितिप्रति राज्य जिम्मेवार हो कि नाइँ रु राहदानी विभाग नजिक २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयास र आज मृत्यु, यो ठूलो गम्भीर विषय हो। यसमा सरकार सचेत हुनुपर्छ र हामी सबै पनि सचेत हुन जरुरी छ। चाहे सुकुम्बासीको सवाल होस्, या महिलाको सवाल होस्, या युवाको सवाल होस्, या ज्येष्ठ नागरिक या बालबालिकाको सवाल होस्, सिंगो मानवता हराउँदै गएको अहिले आभास हुन्छ ।’
उनले सुकुम्बासी, महिला, युवा, ज्येष्ठ नागरिक तथा बालबालिकालगायत विभिन्न समुदायका समस्याप्रति राज्य संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याइन् । पछिल्लो समय हत्या, आत्महत्या, बलात्कार, आत्मदाह तथा विभिन्न हिंसात्मक घटनामा वृद्धि भइरहेको उल्लेख गर्दै यसको कारणबारे सरकारले गम्भीर समीक्षा गर्नुपर्ने धारणा राखिन् ।
सांसद खातुनले सरकारले सुशासनको नारालाई व्यवहारमा उतार्दै आर्थिक, सामाजिक, सांस्कृतिक तथा मानवअधिकारसँग सम्बन्धित विषयमा प्रभावकारी रूपमा काम गर्नुपर्ने बताइन् । हरेक नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै नागरिकप्रति संवेदनशील भएर काम गर्न उनले आग्रह गरिन् ।
उनले देशमा मनोसामाजिक समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै नागरिकलाई भय र निराशाबाट मुक्त हुने वातावरण निर्माण गर्न सरकार जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरिन् ।














