काठमाडौं, असार २९ । कोशी अस्पताल विराटनगरको जग्गामा विभिन्न संघ संस्थाले निर्माण गरेको संरचना भत्काउन तीनतिरबाट डोजर चलाइएको छ ।
कोशी अस्पताल अगाडि र दक्षिण पूर्वतर्फ अस्पताल चोक र देवकोटा चोक तर्फबाट डोजर चलाएर संरचना भत्काउन थालिएको हो ।
जिल्ला सुरक्षा समितिको समन्वयमा बिहानैदेखि विराटनगर–७ स्थित अस्पताल चोक र देवकोटा चोक क्षेत्रमा डोजर परिचालन गरी नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएका संरचना हटाइएको हो। सम्भावित अवरोध रोक्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
अस्पतालका अनुसार ती संस्थाले अस्पतालको नाममा रहेको जग्गामा निर्माण गरेका सटर तेस्रो पक्षलाई भाडामा दिएर आम्दानी गर्दै आएका थिए। ती संरचना हटाइएपछि अस्पतालले आफ्नै गुरुयोजनाअनुसार नयाँ भवन निर्माण, सेवा विस्तार र पूर्वाधार विकास अघि बढाउने जनाएको छ। मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको सम्पत्ति अस्पतालकै सेवामा प्रयोग गर्ने उद्देश्यले अतिक्रमण हटाइएको बताए।














