काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भुमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् ।
सोमवार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हून्।
उनले सभामुख अर्याललाई विपक्षी दलहरुको नाडी छाम्ने प्रयास नगर्न समेत चेतावनी दिए।
‘संसदमा विरोध जनाएपछि पछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्यो । यो नाडी छाम्ने काम गर्नुहुँदैन संसदभित्र । सदन सञ्चालन गर्नुहुने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ । उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न । यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ,’ उनले भने, ‘संसदमा जे जस्तो खालको अभिव्यक्तिहरू आउने गरेका छन् । त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानीकन मित्रवत् सम्झिनुपर्छ । किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो ।’
सभामुख कुनैपनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसदभित्र आफ्नो भुमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताए ।














