प्रधानमन्त्रीलाई ‘श्री ८’ भनेकामा रास्वपाको आपत्ति, रेकर्डबाट हटाउन माग



काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई श्री ८ बालेन शाह भनेकोप्रति रास्वपा सांसद शिव शंकर यादवले आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्री प्रश्न भन्दा माथि नरहेको भन्दै श्री ८ भन्दै टिप्पणी गरेका थिए।

“सरकारले श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ,” राईले भने, “देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आमनागरिकलाई चेतावनी दिइरहेको छ ।”

त्यसलगत्तै नियमात्ति गर्र्दै रास्वपा सांसद यादवले संविधान र संसद्ले नचिन्ने भाषा रेकर्डबाट हटाउन माग गरे ।

“सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूलाई श्री ८ को सरकार भनेर सम्बोधन गर्नुभएको छ, संविधानले यो भाषा स्वीकार्दैन,” उनले भने, “सदनले यो भाषा स्वीकार गर्दैन । त्यो रेकर्डबाट हटाउन सभामुखमार्फत अनुरोध गर्दछु ।”

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  १२ : ४५ बजे