काठमाडौँ । बजेटसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पारित गरेसँगै प्रतिनिधि सभाको बैठक आगामी साउन १४ गतेसम्मका लागि स्थगित भएको छ। बुधबारको बैठकको अन्त्यमा सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित भएको घोषणा गर्दै अर्को बैठक आगामी साउन १४ गते बिहीबार बस्ने जानकारी दिए।
संसद् बैठक स्थगित गर्दै सभामुख अर्यालले संसद्को यो विश्रामको समयलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न सांसदहरूलाई आग्रह गरे। उनले प्रतिनिधि सभा सदस्यहरूलाई आफ्नो निर्वाचन क्षेत्र र जनताको घरदैलोमा पुगेर उनीहरूका आवाज, अपेक्षा र प्रतिक्रिया बुझ्न निर्देशन दिए।
बैठकमा बोल्दै सभामुख अर्यालले भने, “राज्यका नीति, कार्यक्रम र सेवा प्रवाहप्रति जनस्तरको प्रतिक्रिया र सुझाव बुझ्ने प्राथमिक दायित्व प्रतिनिधि सभा सदस्यहरूको हो। जनताका आवाज र आकाङ्क्षालाई संसद्को निर्णय प्रक्रियासम्म पुर्याउने र संसद्का निर्णयलाई पुनः जनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो।”
प्रतिनिधि सभाको यस अधिवेशनले आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमसहित विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरिसकेको छ। सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको सन्दर्भमा सांसदहरूले जनताका माझबाट सङ्कलन गरेका विषयहरूले सदनमा प्रवेश पाउँदा सरकारलाई थप जवाफदेही बनाउन सहयोग पुग्ने सभामुखको विश्वास छ।
संविधानले परिकल्पना गरेको सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता र समन्वयलाई सुदृढ बनाउन सांसदहरूले स्थानीय तहका जटिलतालाई सङ्घीय तहसम्म जोड्ने नेतृत्वदायी भूमिका खेल्नुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले साउन १४ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।














