काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ।
यसअघि निजगढमा सरकारी टोली र पीडित प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिँदै औपचारिकता प्रदान गर्न लागिएको हो।
सहमतिलाई अन्तिम रूप दिनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा दुवै पक्षका प्रतिनिधिहरूबीच अन्तिम चरणको निर्णायक वार्ता सुरु भएको छ। हिजो पनि प्रधानमन्त्री कार्यालयमा दुवै टोलीबीच सघन छलफल भएको थियो र सोही छलफल तथा समझदारीलाई जग मानेर आज लिखित सम्झौताको तयारी गरिएको हो।
वार्तामा सरकारी टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन्। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्र प्रसाद दुलाल सदस्यका रूपमा रहेका छन्।














