काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकलाको संरक्षण, रोजगारी सिर्जना तथा पुस्तान्तरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिसँग भएको छलफलमा उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सरकार सकारात्मक रहेको बताए ।
छलफलमा महासङ्घका प्रतिनिधिले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका थिए ।
उनीहरूले वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकतामा राखेको महसुस भएको उल्लेख गर्दै सरकारसँग आवश्यक सबै प्रकारको सहकार्य गर्न तयार रहेको धारणा राखे ।
महासङ्घले हालसम्म आफ्नै पहलमा मङ्सिर २८ गते हस्तकला दिवस मनाउँदै आएको उल्लेख गर्दै अब यसलाई राष्ट्रिय स्तरमा मनाउने व्यवस्था गर्न माग गरेको थियो । प्रधानमन्त्री शाहले यस विषयमा तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएका छन् ।
त्यसै गरी, हस्तकला सामग्री निर्यातमा हालसम्म स्वघोषणाको आधारमा भइरहेको मूल्याङ्कनको सट्टा बिजक मूल्याङ्कन अनिवार्य गर्ने व्यवसायीको सुझावअनुसार आवश्यक प्रक्रिया अघि बढाइने प्रधानमन्त्री शाहले बताए ।
हस्तकला सामग्री निर्यात गर्दा व्यवसायीले पाउनुपर्ने पाँच प्रतिशत प्रोत्साहन रकम तीन वर्षदेखि रोकिएको विषयमा पनि प्रधानमन्त्रीले त्यसलाई पुनः निरन्तरता दिन सरकार सकारात्मक रहेको भन्दै व्यवसायीलाई आश्वस्त पारे ।
महासङ्घका पदाधिकारीले उद्योग विभाग परिसरमा निर्माण भएको सार्क हस्तकला विकास केन्द्रको भवनमा अन्य कार्यालय सञ्चालन भइरहेको उल्लेख गर्दै उक्त भवन हस्तकला क्षेत्रकै प्रयोजनका लागि फिर्ता गर्न माग गरेका थिए ।
प्रधानमन्त्री शाहले उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा हस्तकलासम्बन्धी सीप विकास तथा प्रशिक्षण केन्द्र सञ्चालन गर्ने विषयमा विशेष चासो व्यक्त गरेका छन् ।
छलफलमा परम्परागत सीप र कलाको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र वितरणलगायतका विषयमा पनि महासङ्घका प्रतिनिधिले विभिन्न सुझाव तथा माग प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महासङ्घका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी थिए ।














