काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका हून् ।
विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहनुभएका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पारे।
मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे। उनले आफ्नै दल वा अन्य कुनैपनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने समेत विश्वास व्यक्त गरे ।














