काठमाडौं। मानवीय सम्बन्ध, सामाजिक सद्भाव र भाइचाराको महत्त्वलाई उजागर गर्दै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’ ९फ्रेन्डशिप डे० मनाइँदैछ।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा हरेक वर्षको जुलाई ३० तारिखलाई आधिकारिक रूपमा ‘अन्तर्राष्ट्रिय मित्रता दिवस’का रूपमा मनाउने घोषणा गरेयता यो दिवस संसारभर औपचारिक रूपमा मनाउन थालिएको हो।
विशेष गरी युवा पुस्तामाझ निकै लोकप्रिय रहेको यस दिन मानिसहरूले आफ्ना साथीभाइलाई शुभकामना दिने, कार्ड तथा उपहार आदानप्रदान गर्ने र डिजिटल माध्यमबाट डिजिटल मेसेज पठाएर आत्मीयता साटासाट गर्ने गर्दछन्।
यस दिवसको ऐतिहासिक पृष्ठभूमि भने झन्डै एक शताब्दी पुरानो छ। सन् १९३० मा हलमार्क कार्ड्सका संस्थापक जोयस हलले अगस्ट २ का दिन साथीहरूबीच कार्ड साटासाट गर्ने अवधारणाका रूपमा पहिलोपटक मित्रता दिवसको सोच ल्याएका थिए।
यद्यपि, सुरुवाती दिनहरूमा ग्रिटिङ कार्ड उद्योगले व्यापारिक फाइदाका लागि मात्र यो अवधारणा ल्याएको भन्दै व्यापक आलोचनासमेत भएको थियो।
पछि सन् १९५८ जुलाई ३० का दिन डा। रेमोन आर्टिमियो ब्राचोले पराग्वेको पोर्तो कासाडोमा साथीहरूसँगको भेटघाटका क्रममा विश्वभर मित्रता प्रवर्द्धन गर्ने उद्देश्यले ‘वर्ल्ड फ्रेन्डशिप क्रुसेड’ नामक संस्था स्थापना गरेपछि जुलाई ३० लाई नै विश्वव्यापी रूपमा मित्रता दिवसका रूपमा प्रस्ताव गरिएको थियो।
संयुक्त राष्ट्रसंघले विभिन्न देश, संस्कृति, जाति र समुदायका मानिसहरूबीच शान्ति, सद्भाव, र सहिष्णुता कायम राख्न मित्रताले पुलको काम गर्छ भन्ने मूल ध्येयका साथ यो दिवसलाई अपनाएको हो। सांस्कृतिक विविधतालाई सम्मान गर्दै अहिंसा र सामाजिक एकताको भावना जागृत गराउनु यस दिवसको मुख्य सन्देश रहेको छ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा विशेष गरी युवावर्ग, विद्यार्थी र विभिन्न सामाजिक संघसंस्थाहरूले शुभकामना आदानप्रदान तथा विविध सांस्कृतिक एवं सामाजिक कार्यक्रम आयोजना गरी यो दिवस उत्साहका साथ मनाउने गरेका छन्।














